चाहे जस्तो सब कुरा कहाँ पाइन्छ यहाँ ?
आफ्नै पुर्पुरोमा लेखेको खाइन्छ यहाँ ।
कर्मयोगी बने, भाग्य आफैँ बदलिन्छ
सित्तैमा बसेर कहाँ भविष्य बनाइन्छ यहाँ ?
विफल भयौँ भन्दैमा तिमी हतास न होऊ,
धैर्य राख, समयसँगै सबै सजाइन्छ यहाँ ।
भाग्यमा छैन भन्दै भाग्यलाई दोष नदेऊ,
याद राख, भाग्यलाई पनि कर्मले झुकाइन्छ यहाँ ।
धन छैन, सफलता छैन, सबैले हेप्छन् तिमीलाई,
सफल र धनवानलाई मात्रै बसाइन्छ यहाँ ।
जयन्त भन्छ यो संसार यस्तै नियममा चलेको छ,
मूल्य मान्छेको हैन, हैसियत बुझाइन्छ यहाँ ।
❦