बुबा - आमाको आँगन छोडेर म हजारौँ आशा र भविष्य बोकेर आएँ।
त्यहीँ दिनदेखि जिम्मेवारीको भारी आफ्नै काँधमा बोक्न थालेँ।
तर…
किन होला ?
सधैँ आशा र सपना अधुरा झैँ लाग्छन्।
घर उज्यालो बनाउने,
हाँसेर सबैको मन जित्ने
र मायाले सबैलाई समेट्ने ,
मेरा ती सपनाहरू कतै हराएजस्ता लाग्छन्।
हो, म बुहारी नै हुँ।
काम र जिम्मेवारीमा बाँधिएको एउटा नाम।
तर त्यससँगै
आफ्नो अधिकार खोज्दै संघर्षरत नारी पनि हुँ।
सबैका लागि समर्पित हुँदा
म सबैकी प्यारी हुन्छु,
तर आफ्नै लागि उज्यालो खोज्दा
आफन्तकै नजरमा अप्रिय बन्छु।
हो, हजुर, म बुहारी नै हुँ।
तर म आफ्नै अस्तित्व लिएर बाँच्न चाहन्छु।
सधैँ अरूका लागि मात्र होइन,
कहिलेकाहीँ आफ्नै लागि पनि
जीवनको मिठो स्वाद लिन चाहन्छु।